२०८१ बैशाख १४ , शुक्रवार

कपन आगलागी मृतक तीनै जनाको पहिचान खुल्यो, एक जना घाइते

 

सुनाखरी न्युज / काठमाडौंः कपनमा रहेको एक टे«किङ कम्पनीमा आगलागी भएको छ । हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गरेको उक्त कम्पनीमा आगलागी भएको हो। आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ । अहिलेसम्म तीन जनाको शव फेला परेको छ । मृतकको सनाखत भने भएको छैन । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्।

 

कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन्। उनको दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेको छ। उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको जानकारी दिए। गएराति कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो। राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो।