२०८१ बैशाख १४ , शुक्रवार

विद्यालयको भवन भत्किँदा ४ विद्यार्थी घाइते

सुनाखरी न्युज/ जुम्ला- जुम्लाको पातारासी गाउँपालिकामा–३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका छन् ।

 

कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएका हुन् । शिक्षक डिल्ली बुढाका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का विद्यार्थी रहेका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ । भवन निकै पुरानो र जीर्ण भएकोले भत्किएको हो । विद्यालयको ३ कोठे भवन भत्किएको उनले बताए । विद्यालय भवन भत्किने बित्तिकै पालिकालाई खबर गरेको र पालिकाबाट टोली विद्यालयमा आउन लागेको जानकारी विद्यालयले दिएको छ ।

 

पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार विद्यालयको भवन भत्किएर विद्यार्थी घाइते भएको खबर प्राप्त भएको बताए । उनले भने, ‘भवन भत्किएको खबर पाउने बित्तिकै डिल्लीचौर प्रहरीचौकीबाट प्रहरी र शिक्षा शाखाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । विद्यालय क्षेत्रमा फोन नलाग्ने भएकोले विस्तृत विवरण प्राप्त गर्न नसकिएको पातारासी गाउँपालिकाले जनाएको छ ।