२०८१ बैशाख १४ , शुक्रवार

बैंकहरूमा ब्याजदर युद्ध, बचत खातामै ९.१३ प्रतिशत ब्याजदर, रेमिट खातामा १५ प्रतिशतसम्म

सुनाखरी न्युज/ काठमाडौ ।
पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थामा ‘ब्याजदर युद्ध’ शुरु भएको छ । तरलतामा देखिएको संकुचन सँगै निक्षेप तान्ने होडवाजीका कारण ब्याजदर बढाउने प्रतिष्पर्धा शुरु भएको हो ।
बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको सूचनामा बचत खातामै अधिकतम ९.१३ प्रतिशत, रेमिटेन्स खातामा अधिकतम १५.१३ प्रतिशतसम्म र मुद्दतीमा अधिकतम १२.१३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले मुद्दतीमा अघिल्लो महिना दिएको अधिकतम ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्र वृद्धि गर्न पाउने व्यवस्था छ।

यसअनुसार बैंकहरूले भदौमा मद्दतीमा अधिकतम ११.०३ प्रतिशत दिएकोमा १० प्रतिशत बिन्दुले बढाएर १२.१३ प्रतिशत पुर्‍याएका हुन्। बैंकहरूले रेमिटेन्स खातामा अधिकतम १५.१३ प्रतिशत पुर्‍याएका छन्।

रेमिट खातामा बैंकहरूले मुद्दती निक्षेपमाभन्दा न्यूनतम एक प्रतिशत बिन्दुले ब्याजदर थपेर दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। अधिकतम सीमा नतोकिएको कारण बैंकहरूले थप ब्याजदर दिने तयारी गरेका हुन्।

केही बैंकहरूले सामान्य बचत खातामा समेत ९.१३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन्। सिद्धार्थ, सानिमा, एनएमबी, सिभिल, प्राइम, बैंक अफ काठमाण्डूले ९.१३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन्।

‘बैंकहरूले विभिन्न किसिमका बचत खाता सञ्चालन गरेका हुन्छन्, यस्तो खाताहरूमा जम्मा भएको कुल रकम र त्यसमा दिइएको ब्याजदरको आधारमा औषत निकालिएको हुन्छ,’ राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पौडेलले भने ।

बचत खाताहरूमा दिइने ब्याजदरबीचको अन्तर दुई प्रतिशत बिन्दुले भन्दा फरक पार्न नपाइने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ।