२०८१ बैशाख १५ , शनिवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज शुक्रबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२: ५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

 

यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन र सर्वाेच्च अदालत/ २०७७, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।