२०८१ बैशाख १४ , शुक्रवार

महेन्द्र गुफा देखि के आई सिंह पुलसम्म फुट ट्रयाक निर्माण हुने

शिशिर पौडेल / पोखरा । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा देखि के आई सिंह पुलसम्म नाला सहितको फुट ट्रयाक निर्माण हुने भएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट सडकको दुवै भागमा नाला सहितको फुट ट्रयाक र साईकल ल्याण्ड निर्माण हुने बताइएको छ।

 

उक्त कार्यको बुधबार महेन्द्र गुफामा प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलन्यास गर्नुभयो। कार्यक्रममा बोल्दै मन्त्री खड्काले कास्कीको उत्तरी भेगको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिदै, विकासका काममा सबैको एकमत हुनुपर्नेमा जोड दिनुभयो।

 

पुर्वाधार कार्यालयका प्रमुख डा ई महेन्द्र बानियाँले याेजनाका बारेमा जानकारी दिदै, फुट ट्रयाकको निर्माण पछि यस क्षेत्रको मुहार फेरिने विस्वास व्यक्त गर्नुभयो। वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गुफा अभियन्ता गोविन्द वहादुर वस्नेत, निर्माण व्यवसायी वल वहादुर राना, यम बहादुर कार्की लगायतले पोखरा १६ को विकासका लागि प्रदेश सरकारको भुमिका महत्वपुर्ण रहेको बताएका थिए। आगामी २ वर्ष भित्र निर्माण सम्पन्न हुने फुट ट्रयाक, नाला र साईकल ल्याण्ड निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सन कम्पनीले ११ लाख ९० हजारमा ठेक्का लिएको बताईएको छ।