२०८१ बैशाख १४ , शुक्रवार

पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट ५४ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ ।

 

साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ । एनडिएमएले मङ्गलबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको हो । मङ्गलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ ।

 

बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ । यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबिहनी भएर आश्रय लिइरहेका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ ।

 

सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन्। बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । एजेन्सी