२०८१ बैशाख १४ , शुक्रवार

सेयर लगानीकर्ताले १ वर्षमै गुमाए १७ खर्ब, के हुन्छ अव बजारमा ?

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर लगानीकर्ताले १ वर्षमै १७ खर्ब गुमाए । २ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंकमा झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आयो ।

२ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेको थियो । २३ भदौ २०७९ मा आउँदा २७ खर्ब ७९ अर्ब ४८ करोड ५५ लाखमा झरेको छ ।

 

गत आर्थिक वर्ष २०७८-७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएको छ ।

करिब ९१ अर्ब भन्दा बढी चुक्ता मूल्य भएको सेयर नेप्सेमा गत आर्थिक वर्षमा थप कम्पनी सूचीकृत हुँदा पनि बजार पूँजीकरण भने करिब १७ खर्बले घट्यो । अर्थात् एक वर्षको अवधिमा सेयर लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ सम्पत्ति गुमाए ।

 

नेपालमा संस्थापक र साधारण धितोपत्रको छुट्टाछुट्टै कारोबार हुने भएपनि बजार पूँजीकरण भने साधारण सेयरको कारोबार मूल्यको आधारमा गणना हुँदै आएको छ ।

बजारको ‘वियरिस साइकिल’ एक वर्ष पूरा हुँदा कारोबार रकम पनि झनै ओरालो लाग्यो । ३१ साउन २०७८ मा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेको छ ।

२०७८ साउन महिनाको कुल कारोबार रकम करिब ३ खर्ब छ । साउनमा कारोबार भएको २१ दिनमा ६६ करोड ६५ लाख ९९ हजार कित्ता सेयर किनबेच भई २ खर्ब ९१ अर्ब ५७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

तर २०७९ को साउन महिनामा २६ दिन बजार सञ्चालन हुँदा कारोबार रकम ७२ अर्ब ६१ करोड ६१ लाखमा सीमित भयो । अझै भदौ लागेपछिको कारोबार रकम दैनिक १ अर्ब हाराहारीमा मात्रै सीमित रहेको छ ।