२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

सुनाखरी न्युज/ काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गर्नुभयो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउनुभएको हो । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

 

विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो । सोही प्रचलनको निरन्तरता स्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ । दुई मुलुकका सेनाबीचको दशकौंदेखिको उक्त अनुपम अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध मात्र नभई दुवै मुलुकको मित्रता र सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।

 

नेपाल र भारत घनिष्ठ एवं शान्तिपूर्ण मुलुक हो । यी मुलुकबीच सदियौंदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक सामिप्यता तथा सेनाबीच प्रगाढ सम्बन्ध रही आएको छ । द्विपक्षीय सेनाबीच शान्तिपूर्ण सहअस्तित्व, सम्मान र सहयोगभाव पहिलेदेखि नै चलीआएको इतिहास छ । तिनै परम्परा र इतिहासले नेपाली सेना र भारतीय सेनाबीच गहिरो सम्बन्ध कायम छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा एसियाको अनुकरणीय उदाहरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाले एक अर्काे मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ । नेपाली सेना र भारतीय सेना बीच सञ्चालन हुने ‘एक्स सूर्य किरण’ सैन्य अभ्यासले दुवै देशको सेनाबीच अझै सम्बन्ध मजवुद पारेको छ ।

 

मानार्थ महारथी दर्जा प्राप्त गर्नु अघि जलनरल पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा नेपाली सेनाले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उहाँले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता पनि गर्नुभएको थियो । पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ ।