२०७९ आश्विन १८ , मंगलबार

एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ ।

 

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् । भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो । हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्छन् ।

 

एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स१७२०१ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।

 

व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।