२०७९ आश्विन १९ , बुधवार

असोजदेखि शुक्रबार सेयर कारोबार नहुने

Capture

सुनाखरी न्युज/ काठमाडौं । आउँदो असोजदेखि शुक्रबार सेयर कारोबार नहुने भएको छ । शुक्रबार सेयर कारोबार नगर्ने सम्बन्धमा आइतबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

 

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । ‘असोजको पहिलो शुक्रबारदेखि नै सेयर कारोबार बन्द हुन्छ,’ उनले भने, ‘असोजदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिन (आइतबार देखि बिहीबारसम्म) मात्र सेयर कारोबार हुनेछ ।’

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गर्‍यो । तर सेयर कारोबार भने शुक्रबार पनि भइरहेको थियो । अहिले सेयर लगानीकर्ताको चर्को दबाबका बीच शुक्रबारको सेयर कारोबार बन्द गरिएको स्रोतले बताएको छ । हाल सातामा ६ दिन (आइतबार देखि शुक्रबारसम्म) सेयर कारोबार हुँदै आएको छ ।