२०८१ बैशाख १४ , शुक्रवार

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त होटेलबाट पक्राउ

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ । आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् ।

 

शुक्रबार बिहान  यूएईबाट फ्लाई दुबईको विमानबाट विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।

 

आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए ।

उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै उनी विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडीमा गएको प्रहरीले जनाएको छ ।दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीलाई लिन गएका बेला अन्सारीले आलमलाई आफ्नै गाडीमा हालेर होटेल पुर्‍याएका हुन् ।

आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राखेर निगरानी गर्न आग्रह गरेको थियो  ।

त्यसपछि गत चैत २७ मा काठमाडौं जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।