२०८१ बैशाख २६ , बुधवार

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।

 

कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाबाहिर खाद्य सामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।

 

कम्पनीले डिलरमार्फत र जिल्लामा उद्योग वाणिज्य संघ तथा सम्बन्धित पालिका प्रशासनले माग गरेको अवस्थामा सकेसम्म सहुलियत पसल राख्ने तयारी भैरहेको पनि खनालले बताउनुभयो । काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्‍याइनेछ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।

 

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाडौं उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) ले दशै तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । कम्पनीले दशैका लागि झण्डै तीन हजार खसीबोका र च्यांग्रा ल्याउने तयारी पनि गरेको छ ।