२०८१ बैशाख २६ , बुधवार

राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर त्रिविका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

 

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि रकार सदैव प्रतिवद्ध रहेको पनि बताउनुभयो ।उहाँले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनुभयो ।

 

उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।