२०८१ बैशाख २६ , बुधवार

नव-निर्मित प्रहरी भवन उद्‍घाटन

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले स्याङ्जा जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी चिलाउनेबासको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट स्याङजा जिल्लाको आधिखोला गाँउपालिका चिलाउनेबासमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

उक्त कार्यक्रममा स्याङजा आधिखोला गाँउपालिका अध्यक्ष विश्व पौडेल, स्याङजाका प्रमुख जिल्ला अधिकारी राजिब पौडेल, जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, स्थानीय जनप्रतिनिधि लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।