२०८१ बैशाख १४ , शुक्रवार

विश्वकप टी–ट्वान्टीको ट्रफी सगरमाथाको बेस क्याम्पमा प्रदर्शनी गरिँदै

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी आज मंगलबारबाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ । ट्रफी प्रदर्शनीका सोमबार नेपाल ल्याइएको थियो ।

 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको क्यानले जनाएको छ । बुधवार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिनेछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।

 

टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमण अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।