२०८१ बैशाख १४ , शुक्रवार

राप्रपा नेपाल गण्डकी प्रदेशको बैठक सम्पन्न,निर्वाचत केन्द्रित विभिन्न कार्यक्रमहरु गरिने

सूर्य बास्तोला/ पोखरा । राप्रपा नेपाल गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मंसिरको चुनावलाई लक्षित गरी विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेशस्तरीय संगठन चुस्त दुरुस्त बनाउनका लागि आगामी दिनहरुमा संगठन विस्तारको लागि सम्बन्धित जिल्ला संगठनलाई आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरी आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा सदस्य निर्वाचनको लागि यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा उम्मेदवार तय गर्ने र सो सम्बन्धी निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । बैठकले राप्रपा नेपाल केन्द्रीय समिति, कार्य सम्पादन समिति र सचिवालय समितिको बैठकबाट भएका निर्णयहरुलाई कार्यान्वयन गर्न प्रदेश समितिले आवश्यक गृहकार्य गर्ने लागू गर्ने समेत निर्णय गरेको छ । साथै जिल्लाको संगठन सुदृढीकरण, विस्तार र निर्वाचन तयारीको लागि निर्वाचन लक्षित कार्यक्रम गर्ने, संगठनको आधारमा जिल्ला वर्गीकरण गर्ने निर्णय गरेको छ । यसका लागि सूर्य बास्तोला संयोजक र सन्जिव खाती, विर बहादुर तामाङ र गंगा थापा सदस्य रहेको अध्ययन अनुगमन समिति गठन गरी यही भदौ २३ गतेभित्र प्रतिवेदन पेश गर्ने समेत निर्णय गरेको छ ।

 

त्यसैगरी भदौ २२ गते गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरु, केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा जिल्लाको उम्मेदवार छनौट गरी भदौ २४ गते केन्द्रीय सचिवालयमा पठाउने निर्णय समेत गरेको छ । प्रदेश अध्यक्ष राजेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा भएको बैठकमा राप्रपा नेपालका सहायक महामन्त्री धर्मकुमार गुरुङ, शिव कुमार बास्तोला लगायत केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव सूर्य बास्तोलाले गर्नुभएको थियो । बैठक पश्चात केन्द्रीय सदस्यहरु भूमिजंग के.सी. र गंगा बहादुर थापालाई सम्मान गरिएको थियो ।