२०८१ बैशाख १४ , शुक्रवार

मुस्ताङीका समस्या बुझ्दै मुख्यमन्त्री,संघीयता संस्थागत गर्न महत्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री पोखरेल

सुनाखरी न्युज/ जोमसोम(मुस्ताङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् ।

 

मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उनले उक्त कुरा बताएका हुन् । सिमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उनले दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, झट्ट हेर्दा प्रदेशले के काम ग¥यो भन्नेजस्तो लाग्ला, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तै पनि हामीले सक्दो काम गरेका छौं । पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै उनले काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्थामाथि नै प्रश्न उठाउने बेला नभएको भनाइ राखे ।

 

अन्तक्र्रियामा सहभागीका प्रस्तुति र जिज्ञाशा सुनेपछि उनले शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्यसम्पादन गर्दै आएको बताए । राजनीतिक घटनाक्रमले आफू मुख्यमन्त्रीको पदमा आएको भन्दै उनले पोहोर ल्याएको बजेटमा धेरै क्रमागत योजना काट्नुपर्ने वाध्यकारी अवस्था आफूसँग रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, अघिल्लो वर्षमा क्रमागत योजना काटिएकै हुन । अघिल्लो सरकारले धेरै बहुवर्षे योजना राखेका कारण बजेट पुगेन, त्यसको मारमा क्रमागत योजना परेका हुन् ।
योजना बैंक नभएका कारण यी समस्या आएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नीति तथा योजना आयोगले यसमा काम गरिरहेको जानकारी गराए । उनले भने, योजना बैंकमा भएका योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने हो भने योजना कटौतीमा परे भन्ने गुनासो सुन्नु पर्दैन ।

 

गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले कर्मचारीलाई सक्षम बनाउनकै प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको समेत बताए । संघ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उनले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी गराए । केन्द्रीकृत मानसिकता नै संघीयता कार्यान्वयनको वाधक बनेको उनको गुनासो थियो । कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफलाइन रहे पनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको मुख्यमन्त्री पोखरेलले बताए । उता दुम्कीवास त्रिवेणी खण्डको सडकमा ट्याक खुलाउन चितवन राष्ट्रिय निकुन्जको अवरोध बनेको उनको भनाइ थियो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले संघ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उनले बताए ।

 

कार्यक्रममा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमता अनुसार प्रहरीलाई स्रोत साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाइ राखे । विपद व्यस्थापनका क्षेत्रमा समेत प्रदेशले सक्दो काम गर्दै आएको भन्दै मन्त्री विश्वकर्माले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र पालिकाबीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राखे । मुस्ताङमा जग्गा नापी हुन नसक्दा धेरै नागरिक समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । पोखरा मुस्ताङ उडानमा धेरै समस्या रहेको भन्दै यसका बारेमा समेत आफूले नागरिक उड्डयन कार्यालयमा ध्यानाकर्षण गराएको उनले बताए ।

 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्यले जुन तहमा रहेर काम गरे पनि समन्वयात्मक रुपमा कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन । साउन भदौमा गरेका तयारीले आगामी दिनमा बजेट खर्च र कार्यक्रम प्रभावकारी रुपमा गर्नका लागि मार्ग प्रशस्त गर्ने उनको भनाइ थियो । सामाजिक, पर्यटन कार्यालयमा सम्बन्धित विषयभन्दा फरक प्रकृतिका योजना पर्दा त्यो काम हुन नसक्ने गुनासो आएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षएण भएको भनाइ राखे । उक्त अवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकालले जिल्लाको बस्तुस्थितिका बारेमा प्रस्तुति राखेका थिए । उनले भौगोलिक विकट भए पनि धार्मिक र पर्यटकीय महत्वको जिल्ला मुस्ताङमा शान्ति सुरक्षाको अवस्था सामान्य नै रहेको बताए ।

 

कालीगण्डकीको कटान, बाढीपहिरो, आगलागी र बेनी जोमसोम खण्डको काम पूरा नहुनुजस्ता समस्याले मुस्ताङवासी आक्रान्त भएको भनाइ उनले राखे । कर्मचारीको अभाव, सुरक्षाकर्मीको अभावले योजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था विद्यमान रहेको सहायक प्रजिअ ढकालले बताए । जिल्लामा २ वटा दमकल अनि पालिकाहरुमा एम्बुलेन्सको आवश्यकता रहेको उनले सुनाए । कार्यक्रममा प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलले सवारी साधनको कमी र हिमाली भेगमा प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्ता कम भएको गुनासो गरे ।
उक्त अवसरमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति उपसंयोजक आइतलाल थकालीले स्थानीय तहले भोग्नुपरेका समस्याका बारेमा सुनाए ।

 

कोष तथा लेखा नियन्त्रक डालेश्वर अर्याल, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देल, कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटी, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्य, नागरिक समाज संयोजक चन्द्रबहादुर थकाली लगायतले भनाइ राखेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने, महेन्द्र थकाली, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालसहित सहभागी थिए । मुख्यमन्त्री पोखरेलले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरको अवलोकन तथा दर्शन गरेका छन् ।
साथमा तस्बिर पनि छन् ।