२०८१ बैशाख १५ , शनिवार

विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बलवीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउने सम्बन्धी सम्झौता भएको छ ।

 

 

गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भाद्र १० गते आयोजित कार्यक्रमका वीच सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको  उल्लेख गर्नुहुँदै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताउनुभयो ।

 

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुहुँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो । सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।

 

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

सशस्त्र प्रहरीसँगको सहकार्यमा १७ चार्जिङ स्टेसन स्थापना गरिने
सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशष्त्र प्रहरी प्रधान कार्यालय हलचोक शुक्रबार आयोजित कार्यक्रममा सशष्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गर्नु भएको छ ।

 

एमओयूअनुसार, सशष्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा हाल सञ्चालित २ वटा पेट्रोल पम्पहरु र सशष्त्र प्रहरीका कार्यालयहरुका १५ उपयुक्त स्थानहरु गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिने छ । चार्जिङ स्टेसन दीर्घकालीनरुपमा कल्याणकारी कोष मातहत सञ्चालन हुने छन् । प्राधिकरण र नेपाल प्रहरीबीच २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्न यस अघिनै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । एमओयू अनुसार, प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने छ । उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशष्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको संचालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेसन तेस्रो व्यक्ति÷संस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ ।

 

चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नु पर्ने छ । सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्ने छ । विद्युत वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा सशष्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरी ५१ स्थानमा छिट्टो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।