२०८१ बैशाख १४ , शुक्रवार

प्रहरी जवान ७-०३ औँ समूहका प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

सुनाखरी न्युज/ पोखरा । प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम ७-०३ औँ समूहका प्रशिक्षार्थीहरुको तालिम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीको प्रमुख आथित्यतामा आज एक समारोहका बिच सम्पन्न भएको छ ।

 

दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक जोशीले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो । दिक्षान्त कवाजको निरीक्षण पश्चात प्रर्शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको कवाजको समेत प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक जोशीले अवलोकन गर्नुभयो । त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिल्लिराज पन्तले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभयो ।

 

तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने जना प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक जोशीद्धारा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पश्चात दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले तालिम अवधीमा हासिल गरेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीपूर्वक लागू गर्न सके मात्र तालिमको उपादेयता पुरा हुने बताउनुभयो । साथै प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले कुनै प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो । धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज पन्तले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थिहरुलाई व्यवसायीक तथा व्यक्तिगत जिवनको सफलताको शुभकामना सहित कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले प्रहरी संगठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानहरुको कुल २३४ कार्य दिनको उक्त आधारभुत तालिम गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र र गण्डकी प्रदेश प्रहरी गण पोखरामा मिती २०७८ असोज १७ गते बाट विधिवत रुपमा उद्‌घाटन भई सञ्चालनमा आएको बताउँदै उक्त आधारभुत तालिममा सहभागी महिला पुरुष गरि कुल ३८१ जना प्रशिक्षार्थीहरु मध्ये २३९ जना “ क” श्रेणी र १४२ जना “ख” श्रेणीमा उत्तीर्ण भएको जानकारी गराउनुभयो । निष्पक्ष एवं पारदर्शी ढङगले कानून र जनभावना बमोजिम सेवा प्रदान गर्न आवश्यक सैद्दान्तिक तथा व्यवहारिक ज्ञान साथै परिवर्तित राजनैतिक तथा समाजिक अवस्थामा लोक कल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरि जनमुखी सेवा प्रवाह गर्न आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् ।

 

उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोईराला, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।