२०८१ बैशाख १५ , शनिवार

पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको छ ।

 

को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो । आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ। यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ ।

 

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो ।