२०८१ बैशाख १४ , शुक्रवार

पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध : प्रहरी महानिरीक्षक सिंह

सुनाखरी न्युज /काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित भिडियो कन्फ्रेन्स मार्फत् पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध रहेको बताउनुभएको छ ।

 

प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकास र श्रीवृद्धिमा खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति संगठन सदैव अनुग्रहित रहेको बताउनुभयो । प्रहरीको संस्थागत विकास एवम् सेवा प्रवाहमा पूर्व प्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवम् रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीहरूको आत्मसम्मान, सन्ततीहरूको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा गर्नुभयो ।

पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रूप सागर मोक्तान र नेपाल पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

 

पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले भर्चुअल रूपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै पूर्व प्रहरी महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुको भर्चुअल उपस्थिति रहेको थियो ।