२०८१ बैशाख १४ , शुक्रवार

कांग्रेस नेता गिरीको निधन

सुनाखरी न्युज /काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्योपचारको क्रममा उहाँको निधन भएको हो ।

 

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो । उहाँ सो अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो । नेपाली कांग्रेस संसदीय दलले गएराति उहाँको निधन भएको पुष्टि गरेको हो । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा हिजो राति ९: ३० बजे निधन भएको जानकारी गराउनुभएको हो ।

 

सचेतक विश्वकर्माका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११: ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा राखिने छ । दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ । नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय हुनुहुन्थ्यो । बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभयो । लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बस्नुभयो।

 

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनुभएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको छ । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

 

प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

 

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।” उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।