२०८१ बैशाख १४ , शुक्रवार

धमाधम उठ्न थाल्यो काठमाडौंको फोहोर,फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग

सुनाखरी न्युज /काठमाडौं ।काठमाडौं उपत्यकाको फोहोर धमाधम उठ्न थालेको छ । महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ ।

 

यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० ट्रिपर फोहोर ढुवानी भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन् । समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

 

समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ । फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने श्रृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताउनुभयो ।