२०८१ बैशाख १४ , शुक्रवार

नागरिकता विधेयक आजै पारित गर्ने तयारी

सुनाखरी न्युज /काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । यही विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

 

सत्ता गठबन्धनको निर्णयअनुसार संसद्ले विधेयक पारितको तयारी गरेको हो । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो । साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो ।

 

गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा आज गृहमन्त्री बालकृष्ण खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ । छलफलपछि विधेयक पारित गरिनेछ । नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । तर राष्ट्रपति भण्डारीले केही व्यवस्थामा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो ।