२०८१ बैशाख १४ , शुक्रवार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित

सुनाखरी न्युज /काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई बहुमतले पारित गरेको हो ।

 

प्रतिनिधिसभाको साउन २९ गतेको बैठकमा गणपूरक संख्याको अभावका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको सार्वजिनक ऋण व्यवस्थापन विधेयकलाई प्रतिनिधिसभाले आज पारित गरेको हो । उक्त विधेयकलाई अर्थमन्त्री जनार्दन शर्माले पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समायानुकूल बनाउन सरकारले यो विधेयक ल्याएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्नका लागि तत्कालीन सरकारले २०७६ भदौ २५ गते विधेयक ल्याएको थियो । प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कानुनका रूपमा लागू हुनेछ ।