२०८१ बैशाख १४ , शुक्रवार

उन्नती कल्चरल भिलेजद्वारा संचालित ‘आधारभुत कला व्यवस्थापन’ तालिम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभुत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । अगस्ट १ देखि ३ तारिकसम्म ललितपुरको होटल भिभान्तामा उक्त तालिमको आयोजना गरिएको थियो ।

 

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसर्ता हो । चौधरी फाउण्डेसनले कला र सिर्जनशिल क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासंगको सहकार्यमा आयोजना गरेको उक्त तालिममा झण्डै ३४ सहाभागी थिए । त्यस अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान – भिजन र मिशन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीतिहरू, मानव संसाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीतिहरू र कला तथा साँस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयहरुमा अन्तरक्रिया र सत्रहरु संचालन गरिएको थियो ।

 

कला प्रबन्धकको रूपमा चार दशकको अनुभव संगालेका आर्टथिङ्क साउथ एशिया र खोज भारतकी पूजा सुद र रुचिरा दासले सहभागीहरुलाई सहजकर्ताको भुमिका निभाउनु भएको थियो । ‘रणनीतिक योजना र मार्केटिङ मोडल दुवै मेरो लागि धेरै सान्दर्भिक थिए’ एक सहभागीले भने, ‘मेरा अघिल्लो परियोजनाहरूमा भएका गल्तीहरु बल्ल महशुस भयो ।’