२०८१ बैशाख १४ , शुक्रवार

मुसहर बालबालिका विद्यालयबाहिरै, आठ कक्षासम्म पढेका कोही भेटिँदैनन्

सुनाखरी न्युज /सिरहा- सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ। सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो। बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ। तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन्।

टोलभरि विद्यालय जाने उमेरका ७४ बालबालिका छन्। उनीहरू बस्तीको नजिकैको विद्यालयमा पढ्न जाँदैनन् । बरु दिनभर भाइबहिनी खेलाएर बस्छन् भने कोही बस्तुभाउ गोठाला। सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन दिवा खाजा, पोसाक, निःशुल्क किताब उपलब्ध मात्र गराउँदैन, उनीहरूका लागि भनेर वार्षिक चार सय रुपैयाँ छात्रवृत्तिसमेत दिने व्यवस्था गरेको छ । तर यसले ‘कट्टीटोल’ का मुसहर बालबालिकालाई छुन सकेको छैन । ‘छोराछोरी पढाएर के गर्नु, नखटी पेट भरिँदैन,’ मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका जितन सदा मुसहरले भने, ‘हामी जीवनमा खटेपछि बालबच्चा घरमै छोड्नुपर्छ, भाइबहिनी हेरालुका लागि पनि विद्यालय जान पाउँदैनन् ।’

 

४ कक्षासम्म पढेर बीचमै पढाइ छाडेका जितनका ३ छोरा र १ छोरी छन् । बीचमै पढाइ छाडेको पिरालो भए पनि जितनले अक्षरसम्म चिन्न सक्ने बनाउन छोरालाई विद्यालय पठाएका थिए । तर छोराले पढाइ छाडेपछि उनले शिक्षामा चासो दिएनन् । जितनका अनुसार बस्तीका वैदेशिक रोजगारीमा गएका केहीले मात्र बालबालिकालाई विद्यालय पठाउन थालेका छन् । बस्तीभरिमा प्रभु सदाय मुसहर, जनक, बद्री र रामपुकारका बालबालिका विद्यालय जान्छन् । प्रभुका २ छोरा र १ छोरी, जनकको २ छोरा र १ छोरी, बद्रीका छोरी प्रियंका र रामपुकार छोरी शान्ति विद्यालय जान्छन् । उनीहरू वैदेशिक रोजगारीका लागि कतारमा छन्।‘विदेशबाट पति रामपुकारले छोरी पढाउन भनेपछि विद्यालय पठाउन थाले,’ प्रमिला देवीले भनिन्, ‘विदेश पढाइ र सीप नहुँदा साह्रै दुःख पाएको पतिले सुनाएपछि छोरी शान्तिलाई पढ्न पठाए ।’ उनका अनुसार बस्तीबाट ८ जना मात्रै विद्यालय जाने गरेका छन् । ‘छरछिमेकलाई समेत बालबालिका विद्यालय पठाउ भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘विद्यालय पठाएर बालबच्चा र बस्तुभाउ कसले हेर्छ भनेर हप्काउँछन् ।’

 

‘कट्टी टोल’का बासिन्दा गाउँ ब्लक जग्गा र पोखरी छेउ ऐलानी जग्गामा बसोबास गर्छन्। बस्तीमा पुग्ने बाटो, बिजुलीसमेत छैन। विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन। जनता मावि प्राविधिक धारका प्रधानाध्यापक वीरबल यादवले मुसहर बस्तीका केही बालबालिका मात्र विद्यालय आउने गरेको जानकारी दिए। ‘बस्तीमा बर्सेनि गएर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘अभिभावकले नै चासो नदेखाएपछि विद्यालयले केही गर्न सक्ने कुरै भएन ।’