२०८१ बैशाख १५ , शनिवार

बढ्दै कोरोना संक्रमण, कर्मचारीको करार नथपिदा उपचारमा सकस

सुनाखरी न्युज / काठमाडौँ-दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तालाई आँकलन गर्दा दैनिक ६०० संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौंका छन् ।

मंगलबार मात्रै देशभरबाट परीक्षण भएका ५४१५ नमूनामध्ये ८१४ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार देशभर ४९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै ३८ जना आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। संक्रमितको संख्या बढ्दै गएपछि जनशक्ति अभावमा देशभरका अस्पतालमा उपचारमा सकस भएको छ। सरकारले कोरोनामा खटिएका करारका कर्मचारीको म्याद नथपिदा भेन्टिलेटर,आइसीयू र जनरल वार्ड संचालनमा अप्ठ्यारो भएको हो।

 

 

कोरोना उपचारको केन्द्र मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत करारका कर्मचारीको म्याद नथपिदा उपचारमा समस्या भएको छ । नेपालमा पहिलो कोरोना संक्रमितको उपचार भएको र कोरोना डेडिकेटेड टेकु अस्पतालमा कोरोना उपचारमा खटिएका करार कर्मचारीको म्याद नथपिँदा उपचारमा असहज भएको हो । संक्रमितको संख्या बढेसँगै अस्पतालमा उपचारका लागि आउनेहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । टेकु अस्पतालमा हाल दुईजना संक्रमितको आइसीयूमा र ४ जना जनरल वार्डमा उपचाररत छन् ।अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार कोरोनाकालमा खटिएका ६८ जनाको करार नथपिँदा फुलफेजमा भर्ना लिन सकिएको छैन । उनले भने, ‘अहिले आएका बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता छ । करारको दरबन्दी मन्त्रालयले अहिलेसम्म स्वीकृत दिन मानेको छैन । स्वीकृतिका लागि प्रकृयामा नै छ । ‘

 

 

हाल टेकु अस्पतालमा २४ वटा आइसीयू बेड छन् । उनले भने, ‘नर्स नभएर आइसीयू सञ्चालनमा कठिनाइ भएको छ । काम त भइरहेको छ तर, जनशक्ति अभावले निकै समस्या झेलेका छौं । सरकारले डेडिकेटेड भनेर तोकिसकेपछि हामीले भर्ना गरेर उपचार गर्नुपर्नेमा जटिल केस आएमा भर्ना गर्न सकिएको छैन । हामी कहाँ अन्तबाट रिफर भएर बिरामी आउनुहुन्छ । तर, हामीलेनै अन्यत्र पठाउनुपर्ने स्थिति छ ।’यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी राजविक्रम शाहीले पीसीआर परीक्षण भएकामध्ये अधिकांशमा कोरोना पोजिटिभ देखिने गरेको बताए । उनले भने,‘पछिल्लो पटक एकैदिन ५७ जनाको कोरोना परीक्षण भयो । त्यसमध्ये १९ जनामा कोरोना पोजिटिभ देखियो । हामी कहाँ अहिले एकजना बिरामी जनरल वार्डमा हुनुहुन्छ। केहिदिन अघि ४/५ जना बिरामी भर्ना हुनुभएको थियो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार विरेन्द्र अस्पताल छाउनीमा १७ जना कोरोना संक्रमित आइसीयूमा उपचारत छन्। यस्तै वीर अस्पतालमा १३ जना आइसीयू र ३ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा २ जना आइसीयू र २ जना भेन्टिलेटरमा उपचारत छन्। सो अस्पतालमा १० जना एचडीओमा उपचारत छन्। कर्मचारीको करार नथपिदा उपचारमा सकस