२०८१ बैशाख १४ , शुक्रवार

छोरीले पाए दुई लाख ८० हछपन्न जार

सुनाखरी न्युज/ काठमाडौं -तम्घास । गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

 

त्यसैअनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि रु पाँच हजारका दरले कूल रु दुई लाख ८० हजार उपलब्ध गराएको हो । उनीहरुको बैंक खाता खोली रकम बैंकमा नै जम्मा गरिएको छ । जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिए ।

 

“छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।” उनले भने, “उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।” यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन रु पाँच लाख विनियोजन गरिएको उपाध्यक्ष दर्लामीले बताए ।