२०८१ बैशाख २५ , मंगलबार

फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् ।

 

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन हुन लागेको उनले बताइन् । झमकको पुस्तक पढिसकेका र ट्रेलर रिलिजपछि फिल्म हेर्ने पर्खाइमा रहेका दर्शकलाई लक्षित गरी फिल्म प्रदर्शन गर्न लागिएको निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् । कोरोना महामारीले यसअघि भारत प्रदर्शन रोकिएको थियो ।

 

फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुडीकी अवस्था थापा र झमकको किशोरावस्थापूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेका छन् । सारिका घिमिरे, किसान सुनार, उमा गिरी र मेनुका प्रधानको पनि फिल्ममा अभिनय छ । मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवादमा सहकार्य रहँदा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।