२०८१ बैशाख १९ , बुधवार

प्रदेश–१ मा बढ्यो कोरोना संक्रमण

सुनाखरी न्युज/ काठमाडौं- प्रदेश नम्बर–१ मा कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।

 

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उत्परिवर्तित ओमिक्रोनको नयाँ प्रजातिका कारण प्रदेशमा संक्रमितको संख्या दैनिक रूपमा बढ्दो छ । मन्त्रालयको तथ्यांकानुसार खासगरी सहरी क्षेत्रमा संक्रमितको संख्या धेरै छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरमा संक्रमितहरू बढ्दै गएका छन् । अहिले प्रदेशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०९ छ । तीमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ । एचडीयू बेडमा आठ र आईसीयूमा दुई संक्रमित उपचाररत छन् । उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रदेशभर कोरोना संक्रमितको उपचार गर्न २१ अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा एक हजार ९६ बेडको व्यवस्था गरिएको छ । यसैबीच, विराटनगर महानगरपालिकामा रोकिएको स्वाब संकलन र कोरोना परीक्षण सुरु गरिएको छ । शंकास्पद संक्रमितको एन्टिजेन परीक्षण र स्वाब संकलन गर्ने व्यवस्था गरिएको सहरी स्वास्थ्य महाशाखाका प्रमुख डा. विशालकुमार देवले जानकारी दिए ।