२०८१ बैशाख १४ , शुक्रवार

सोनापुर सिमेन्टले २ अर्बको आईपीओ जारी गर्ने

सुनाखरी न्युज/ काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साउन १५ गते (आज) १४ औं वार्षिक साधारण सभा गर्दै छ।

 

कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय बत्तीसपुतली काठमाडौंमा दिनको ४ बजे देखि आरम्भ हुने कम्पनीले जनाएको छ। सभाले आर्थिक वर्ष आ.व. २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण सञ्चालकको निर्वाचन र बैठक भत्ता लगायतका प्रस्ताव पेश गर्ने एजेण्डा राखिएको छ।

 

कम्पनीले सार्वजनिक शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई २ अर्ब बराबरको सार्वजनिक निष्काशन गर्नेछ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट सोना श्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ।

 

उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक १२५० टन रहेको छ । क्लिंककर उत्पादन क्षमता २३०० टन रहेको छ । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुङ्गा खानी उत्खनन अनुमतिपत्र छ । सरकारले पूँजी बजारमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको उच्च हिस्सा घटाएर वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउनका लागि बजेट मार्फत कर छुट सुविधा दिने नीति लिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो नीति कार्यान्वयन गर्दै बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा सेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

 

सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।