२०८१ बैशाख १४ , शुक्रवार

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गर्नुभएको हो । विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्र.व.उ.भट्टले बताउनुभयो । उहाँले भन्नुभयो: “हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं ।

अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।”थप प्रष्ट पार्दै प्रवक्ता प्र.व.उ. भट्टले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजग हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।