२०८१ बैशाख १४ , शुक्रवार

प्रशान्त तामाङ बने छोरीका पिता नाम राखे ‘आरिया’

सुनाखरी न्युज /गायक हुँदै फिल्मको अभिनेता बनेका प्रशान्त तामाङ छोरीको पिता बनेका छन । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन । प्रशान्तले छोरीका केही ‘क्यूट’ तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै आफू पिता बनेको खुशी व्यक्त गरेका छन् । उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ

 

‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद,’ उनले लेखेका छन । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए । आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि प्रशान्त दशैंअघि काठमाडौंमा आउने तयारीमा छन ।

 

 

प्रशान्तलाई गत वर्ष मातृशोक परेको थियो । कोरोनाका कारण उनको आमाको उपचारको क्रममा निधन भएको थियो । ‘इन्डियन आइडल ३’को विजेता भएपछि उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले गाएका ‘मन साइँली’, ‘अरे क्यानम’, ‘असारे महिना’, ‘रातो रानी’, ‘बतासै सरर’ जस्ता गीत चर्चित छन ।