२०८१ बैशाख १४ , शुक्रवार

प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रूपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

 

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागकिरलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए । सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । नागरिक शिक्षित र सूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने उनको भनाइ छ ।

 

तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने उनको भनाइ छ । रासस