२०८१ बैशाख १५ , शनिवार

पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा,आउने पुस्तालाई हिजोको पोखरा देखाउने काममा महानगर : मेयर आचार्य

सुनाखरी न्युज/ पोखरा। पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् ।

 

२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् । कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

 

महानगरप्रमुख धनराज आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएको बेलामा गरिएको चिन्तन स्तुत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताए । मेयर आचार्यले १८ महानगरपालिका आउने पुस्तालाई हिजो देखाउन सक्ने गरी अगाडि बढिरहेको जानकारी पनि दिए । मेयर आचार्यले भने– काव्यरसमा पोखरा समालोचना गर्ने विषय होइन, पोखरालाई सबै हिसाबले सबल तुल्याउन, सबै बिम्बलाई प्रयोग गर्न हामी सबै लाग्न आवश्यक छ ।’मेयर आचार्यले उलक परिवारले उहिलेको पोखरालाई फोटोग्राफीमाफत देखाइरहेको बेला डिल्लीराजको कविता कृति पनि आगामी पुस्ताका लागि नयाँ प्राप्ति हुने धारणा राखे ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखराबारे लेखिएका कवितालाई यसरी लोकार्पण गर्न पाउँदा खुसी लागेको धारणा राख्दै पोखराले सबैलाई कवि बन्न प्रेरित गरेको उल्लेख गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले आफूँले ५० वर्ष पछिको पोखरा मोदी, मादी र आँधी बीचको पोखरा हुने आँकलन गरेको बताए । श्रेष्ठले पोखरा सबैको मनको पोखरा भएकाले गण्डकी प्रदेशका जुनसुकै जिल्लाका व्यक्तिले स्थान चिनारी दिँदा पोखरा भन्न रुचाएकोमा खुसी व्यक्त गरे ।

 

कृतिका स्रष्टा डिल्लीराज आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आयआर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाए । स्रष्टा आचार्यले यो संस्करणमा भएका कमी कमजोरीलाई सुधार्दै आगामी संस्करणलाई सघाउन पोखरावासीलाई आग्रह गरेका थिए । कृतिबारे पाठकीय टिप्पणी राख्दै डा जगन्नाथ रेग्मीले कृतिमा २०१० को दशकदेखि ७८ सालसम्मका अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ सङ्ग्रहणीय रहेको बताए । एउटै कृतिमा पोखराबारे लेखिएका गद्य–पद्य दुवै संरचनाका रचनाले पाठकलाई कृति पठनीय बनाएको उनको धारणा थियो । कार्यक्रममा सगरमाथा आरोही अधिवक्ता विष्णु भुषाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबा, दाङ–पोखरा सम्पर्क समाजकी अध्यक्ष राधा केसीलगायतले बोलेका थिए ।

 

उक्त कार्यक्रमका लागि असम गुवाहाटीकी नेपाली भाषी साहित्यकार नीता गुरुङकातर्फबाट प्राप्त सम्मान तथा शुभकामना सन्देशसमेत कार्यक्रममा सुनाइएको थियो भने दाङ पोखरा–सम्पर्क समाजले स्रष्टा डिल्लीराज आचार्यलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन मावनअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले गरेका थिए ।