२०८१ बैशाख २६ , बुधवार

सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

सुनाखरी न्युज/काठमाडौं । कोरोना संक्रमण दैनिक बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गर्दै त्यस्तो अनुरोध गर्नुभएको हो ।

 

सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न अनुरोध गरिएको छ । साथै विमानस्थल, हवाईसेवालगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउन समेत भनिएको छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ ।

 

विश्वमा ओमिक्रोनको उपप्रजाति बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थापन गर्दै गएको चिकित्सकहरुको भनाइ छ । विभिन्न अध्ययनहरुले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रामक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबैमा आग्रह गर्नुभएको हो ।