२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौँमा थप ३ वटा नयाँ दमकल : प्रतिमिनेट ३ हजार लिटर पानी तान्ने र फाल्ने क्षमता

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरमा नयाँ ३ वटा दमकल थपिएका छन् । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।

 

दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टम (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् ।

 

८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् । दमकल आएपछि प्रतिक्रिया दिँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभएको छ, ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि काम गर्दै आएको छ । महानगरका पुर्वप्रमुख विद्यासुन्दर शाक्यका पालामा सुरु भएको दमकल खरिद प्रक्रियाअन्तर्गत अहिले ३ दमकलहरु महानगरमा आइपुगेका छन् । दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’

 

पूर्व प्रमुखप्रति आभार व्यक्त गर्दै प्रमुख शाहले, आगोको प्रयोगमा असाध्यै सावधानी अपनाउनु पर्ने आवश्यकता देखाउनुभएको छ । ‘काठमाडौँ जस्तै घना बस्ती भएका क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सीमितता छ । त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन धेरै सचेत र होसियार हुनै पर्छ । अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । आगोको बिषयमा कहिलै पनि हेलचेक्रयाइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।‘

 

नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

 

महानगरसँग ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । त्यस्तै जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।