२०८१ बैशाख १४ , शुक्रवार

चितवनमा रगत अभाव भयपछी काठमाडौँ र पोखराबाट ल्याइँदै

सुनाखरी न्युज/ चितवन-

चितवनमा रगतको अभावपछि आज काठमाडौँ र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौँबाट ४५ युनिट रगत ल्याउन लागिएको हो ।

 

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो ।

 

रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए । साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्ने उनको भनाइ छ ।  त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौँबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।

काठमाडौँबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ ।  जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ ।

 

रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताए । क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । रासस