२०८१ बैशाख १४ , शुक्रवार

बेलायतमा हालसम्मकै उच्च तापक्रम, रेड अलर्ट जारी

सुनाखरी न्युज /काठमाडौं –

बेलायतमा हालसम्मकै उच्च तापक्रम हुने भएको छ । सोमबार र मंगलबारको तापक्रम अहिलेसम्मकै उच्च रहने मौसम विभागको कार्यालय (मेट अफिस) ले जनाएको छ ।

लन्डन,म्यानचेष्टर र योर्कलगायतका क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियसको आसपासमा पुग्ने बताइएपछि त्यहाँको जनजीवन थप आतंकित बनेको छ । बेलायतको इतिहासमा यो नै सबैभन्दा बढी तापक्रम हुनेछ । सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम हो ।

 

सोमबार र मंगलबार अत्यधिक गर्मी हुने भनि सरकारले पहिलोपल्ट ‘ रेड अलर्ट’ जारी गरेको छ । यसैगरी वेल्स, स्कटल्याण्डका केहि भाग र इंग्ल्याण्डका अन्य भागहरुमा पनि सरकारले ‘एम्बर वार्निङ’ जारी गरिएको छ । उच्च तापमानका कारण ज्यानको जोखिम हुने भनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

 

राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । मानिसहरुले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउनसक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाई हुनसक्ने चेतावनी जारी गरिएको छ ।

 

सोहि विषयलाई लिएर गत शनिबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा कोब्रा बैठकको आयोजना गरिएको भएपनि प्रधानमन्त्री बोरिस जोन्सन भने उपस्थित भएनन्, जसका कारण उनी थप आलोचित बनेका छन् । एजेन्सी