२०८१ बैशाख १४ , शुक्रवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं – चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक नागर्जुन नगरपालिका-१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन – भरतपुर महानगरपालिका-१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३-०१-२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार दिउँसो ठक्कर दिँदा भ्यान चालक नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा ना.६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ । तीन वटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यसैगरी चितवन – भरतपुर महानगरपालिका-१५ रामपुरस्थित सडकमा ग.२ च ९०६२ नम्बरको कारले ना.३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ – ब्यास नगरपालिका-११ फरकचौरस्थित सडकमा ग.१ क ३६८३ नम्बरको बस र ग.१५ प ६५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ बस्ने २३ वर्षीय बिक्रम सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा – महागढीमाई नगरपालिका-५ दहियारस्थित सडकमा प्र.२-०३-०२० प ४१७२ नम्बर मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्द कुमार कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोट – लिखु गाउँपालिका-६ छहरेस्थित सडकमा ना.६२ प ९५२१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाईएको छ ।

यसैगरी नुवाकोट – ककनी गाउँपालिका-१ महालक्ष्मीथानस्थित सडकमा बा.४ ख ३७२८ नम्बरको आइचर टिपर सडकबाट करिब २० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा टिपरमा सवार ककनी गाउँपालिका-१ बस्ने ३२ वर्षीया बसन्ती बलामीको घटनास्थलमै मृत्यु भएको छ ।

 

साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ । दुर्घटनास्थल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार एंव दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।