२०८१ बैशाख १५ , शनिवार

‘नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ’ : प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बालुवाटारमा शुक्रबार भएको पाँच दलीय गठनबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए ।

 

‘बैठकमा सहभागी अन्य नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने बताउनु भएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री देउवाले भने गभर्नरको राजनीतिक संलग्नता देखिएको कारण अन्यले राजीनामा माग्ने नभइ अधिकारी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।’ बिहीबार प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए । असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ ।

 

उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको हो । अधिकारी र एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको जनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले भने बैठकमा गभर्नरको विषय उठेपछि प्रधानमन्त्रीले चासोमात्रै देखाएको दाबी गरे । ‘नेताहरुले विषय उठाउनुभयो । त्यसपछि प्रधानमन्त्रीजीले पनि के भएको हो भनेर चासो मात्रै देखाउनुभएको हो । अहिल्यै त्यसबारे के गर्ने ? कसो गर्ने ? भनेर कुनै निर्णय भएको छैन,’ उनले भने ।