२०८१ बैशाख १४ , शुक्रवार

डाक्टर भट्टराईसहित नौ जना जसपाको पदीय हैंसियतबाट मुक्त

सुनाखरी न्युज/ पर्सा । डा. बाबुराम भट्टराईसहित ९ जना केन्द्रीय पदाधिकारीहरुलाई जनता समाजवादी पार्टी नेपाल ( जसपा)को सबै जिम्मावारीबाट मुक्त गरिएको छ ।

 

वीरगन्जमा जारी दुई दिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधान विपरितको कार्य गरेको भन्दै भट्टराई सहितका केन्द्रीय पदाधिकारीहरुलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको हो । जसपा नेपालले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति तथा सिद्धान्त र विधान विपरितको कार्य गरेकाले डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यमी, भगतबहादुर साहसहित ९ जनालाई पदमुक्त गरिएको जानकारी दिनुभयो ।

 

उहाँले केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा पार्टीका वरिष्ठ नेता असोक राईलाई पार्टीको संघीय परिषद अध्यक्षमा चयन गरेको बताउनु भयो । बैठकले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेस सहितको पाँच दलीय गठबन्धनमा नै जसपा रहने निर्णय गरेको जानकारी अध्यक्ष यादवले दिनुभयो । अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय भएको पनि बताउनुभयो । दुई दिनसम्म संचालन भएको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि संगठनको सबै तहमा तयारी गर्ने निर्णय गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

 

बाबुराम लगायतका व्यक्तिहरुले गल्तिलाई स्वीकार गद्रै आत्मलोचना गरी आए पार्टीको ढोका खुल्ला राखेको अध्यक्ष यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी नव नयुक्त संघीय परिषद अध्यक्ष राईले पार्टीको घोषित लक्ष्य उदेश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा संगठनात्मक निर्णयहरु गरेको जानकारी दिनुभयो ।