२०८१ बैशाख १४ , शुक्रवार

मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

सुनाखरी न्युज / काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उहाँले बताउनुभयो । नेपालको प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहका अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरुप आफ्ना व्यवसायिक गतिविधिहरु अगाडि बढाउँदै आएको बताउनुभयो ।

 

आइएमई रेमिट हामीले सुरुगरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिक माध्यम बाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरुगर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकहरुले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो ।

त्यसैगरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप बैदेशिक लगानी भित्र्उनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौं, उहाँले भन्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । यसका लागि तपाईहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपरर्यो, उहाँले भन्नुभयो । गैर आवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरुभइसकेको बताउँदै उहाँले गैर आवाशीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ्ग जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताउनुभएको छ ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो । यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गर्नुभएको छ । लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उहाँले धेरैभन्दाधेरै बैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरुले नै भूमिका निभाउनुपर्ने बताउनुभयो ।