२०८१ बैशाख १४ , शुक्रवार

रेमिट्यान्स र पर्यटक घट्दा सोधनान्तर स्थिति २६९ अर्ब घाटामा

सुनाखरी न्युज/ काठमाडौं ।

मुलुकको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) मा २६९ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आर्थिक वर्षको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकम कम भएको हो । यसले सोधनात्मक स्थिति निरन्तर घाटामा गएको हो ।

 

अघिल्लो आर्थिक वर्ष २०७७-७८ को यसै अवधिमा सोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने २ अर्ब २६ करोड डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

यस अवधिमा चालु खाता ५९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता २८९ अर्ब ११ करोड रुपैयाँ घाटामा रहेको थियो ।

 

यसअवधिमा पूँजीगत ट्रान्सफरमा ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब १५ करोड रुपैयाँ मात्र रहेको थियो ।