२०८१ बैशाख १९ , बुधवार

सम्भावित आर्थिक संकट टार्न पूँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना पछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नु भएको छ ।

 

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नु भयो– विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दीतथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ । उहाँले नेपाल लाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्था लाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गर्नु भयो ।

 

उहाँले भन्नुभयो– नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नु भएको छ, यसबाट लाभलिनुहोुस् र नेपालमा बढीभन्दा बढी लगानील्याउनुहोस् भन्ने मेरो आग्रह छ । उहाँले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपालीपनि परेको धारणा राख्नुभयो ।

 

लगानी गरेर राम्रो प्रतिफललिनमिल्ने संसारका धेरै देशहरुमध्ये नेपालपनि एक रहेको उहाँको भनाई थियो । उहाँले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफललिन सकिने उदाहरण पनि पेश गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैर आवासीय नेपालीहरु सँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गर्नुभयो ।