२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौंमा ४२ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

सुनाखरी न्युज/ काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ।

 

अहिले काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेकाे छ। जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार भन्दा बढी मतको अग्रता लिनुभएको छ । साहले ४२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार ९ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायमै राख्नुभएको छ। उहाँले ४३ हजार ६१ मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३३ हजार २ सय ३९ मत प्राप्त गर्नुभएको छ। साथै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ९० मत प्राप्त गर्नुभएको छ। ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ३० हजार ८ सय ६० मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार २ सय १ मत प्राप्त गर्नुभएको छ। साेही नगरपालिकाकाे नेकपा एमालेकी उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले १७ हजार ७ सय १६ मत प्राप्त गर्दा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १२ हजार ६ सय ६६ मत प्राप्त गर्नुभएकाे छ।

 

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फका नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य ४५ हजार २७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा ४१ हजार ५ सय ९० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ। त्यस्तै, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३ सय १५ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ । साथै नेकपा एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४ सय २० मत प्राप्त गर्नुभएको छ।