२०७९ असार २० , सोमवार

मेधा ऋषि र दुर्गा सप्तशती(चण्डी)

33. Sunakhari Banner Glove

चक्रपाणि शर्मा गौतम – बिन्ध्याचल पर्वत प्राचीन भारत बर्ष तर हालमो बङ्गलादेशमा पर्दछ।यस पर्वतको पौराणिक महिमा अति सुन्दर र अलौकिक छ।यस पर्वतलाई ईश्वरीय वासस्थान भनेर पनि चिन्ने गरिन्छ।यो क्षेत्रमा परापूर्बकाल देखि तपस्वी,योगी,ऋषि-मुनीहरु तपस्या गरी सिद्धि प्राप्त गरेका द्रिष्टान्तहरु हाम्रा धार्मिक ग्रन्थहरुमा प्रशस्त भेटिन्छन।यो पर्वतीय क्षेत्र ज्ञान-बिज्ञानको भण्डार मानिएको छ।

 

यसै पर्वतको टाकुरामा जङ्गलको राजा सिंह माथि चढेर दुर्गा भगवती विराजमान भैरहेकी हुन्छिन भनेर शास्त्रहरुमा बर्णन गरिएको छ।सत्ययुगमा मेधा नाम गरेका एकजना ऋषिले अन्य कैयौं ठाऊंमा प्राप्तगर्न नसकेको सिद्धि यस ठाऊंमा आएर तपस्या गरेपछि प्राप्तगर्न सकेका थिए।यसरी सिद्धि प्राप्त गरिसकेपछि मेधा ऋषिलाई दुर्गा भगवतीबाट आकाशवाणी भयो,त्यसपछि उनले यस ठाऊंमा आफ्नो स्थायी आश्रम बनाएर दुर्गा भगवतीको आराधना थालनी गरेका थिए।शक्तिस्वरुपा दुर्गा भगवतीको यसरी नित्य आराधना गर्न थालेपछि उनै दुर्गाको प्रेरणा र आशीरवाणीले मेधा ऋषिले दुर्गा सप्तशती(चण्डी)को रचना गरेका हुन भन्ने कुरा हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

 

ऋषिश्रेष्ठ अगस्तीबाट भएको अथक प्रयासले गर्दा आफ्नो गरिमामय अस्तित्व सुरक्षित रहंदै आएको यस बिन्ध्याचल पर्वतको धार्मिक,पौराणिक मात्र नभएर बैज्ञानिक महत्वपनि त्यत्तिकै छ।यस ठाऊंमा आएपछि जोकोही मानिसपनि आफ्नो अन्तरात्माको पींडा,आबेग,द्वेष,ईर्षा,अभिमान,अहङ्कार जति सबै पखालिएर आत्म स्वच्छ,शुद्ध,शान्त,विशाल हुन गएको सबैले महशूस गर्दछन।यहां चरा-चुरुङ्गीहरुको आवाज बाहेक अरु कुनै प्रकारको आवाज,होहल्ला,ध्वनी सुन्न पाईंदैन।यहां भएको मेधा ऋषि आश्रममा आस्वीनशुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म र चैत्रशुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नित्य दुर्गा भगवतीको पूजा,अर्चना,आराधना,चण्डी पाठ गरिन्छ।यस समयमा दुर्गा भगवतीको शक्तिको प्रभाबले गर्दाखेरि यहांको घना जङ्गलमा हुने जस्तै हिंसक जनावरले पनि आफ्नो हिम्सक प्रब्रित्ति चटक्कै भूलेर आगन्तुक श्रद्धालु भक्तजनहरुसंग बडो ममता र मैत्रीभावका साथ लाडिएर खेल्न खोज्छन।त्रेतायुगमा मर्यादापुरुषोत्तम रामचन्द्र र उनकी धर्मपत्नी सीता यस ठाऊंमा आएर दुर्गा भगवतीको आराधना गरेका थिए।दशानन्द लङ्केश रावणलेपनि यस पर्वतमा आएर दुर्गा भगवतीलाई खुशी पारेर गएका थिए।धेरै राज्यका राजा-महाराजा, राजर्षी-महर्षी यस ठाऊंमा आएर तपस्यागरी सिद्धि प्राप्तगरेर फर्कने गर्थे।यस भूमिमा पदार्पण गरेपछि जस्तै मूर्ख र दुष्ट स्वभावको मान्छेपनि सज्जन र ज्ञानी बन्छ भन्ने धार्मिक किंबदन्ति छ।

 

बिन्ध्याचल पर्वतको टाकुरामा बसेर तपस्या गरेपछि सिद्धि प्राप्तगरेका मेधा ऋषिले त्यसै समयदेखि दुर्गा भगवतीको आकाशवाणी पश्चात मात्र यसै क्षेत्रमा आफ्नो स्थायी आश्रम बनाउने निश्चय गरेका हुन र यस क्षेत्रको प्राक्रितिक स्वरुप,सुन्दरता,वातावरणीय कुशलता अबर्णनीय छ।धरतीको स्वर्ग यहि ठाऊं होकी भन्ने सबैमा भान हुन्छ।यहि ठाऊंमा गरेको घोर तपस्याको कारणले गर्दाखेरि मेधा ऋषिले सर्वशक्तिस्वरुपा दुर्गा भगवतीको महिमा सन्सार सामु ल्याउन सफल भएका थिए।असुरहरुबाट खोसिएको देवताहरुको स्वर्गलोकलाई रक्तवीज,चण्ड-मुण्ड,धुम्रलोचन ,शुम्भ-निशुम्भ,महिषासुर जस्ता शक्तिशाली असुरहरु जति सबैको बधगरेर देवताहरुलाई फिर्ता गराउने देवी पनि यिनै हुन जसका बारेमा यथार्थ बर्णन दुर्गा सप्तशती(चण्डी)मा गरिएको छ।दुर्गा भगवतीका चरित्रलाई मेधा ऋषिले(१)पहिलो महाकाली जसले बिष्णुलाई योगनिन्द्राबाट ब्युंझायिदिएकी थियिन,(२)दोश्रो महालक्ष्मी जो धन-धान्यरुपी छिन,(३)तेश्रो महासरस्वती जो सर्बोच्च ज्ञान र चरित्रवान छिन भनी ब्याख्या गरेकाछन।यी तीन चरित्रका देवीहरुलाई पूजा,आराधना गर्ने भक्तजनहरु हुन—(क)आर्त,(ख)जिज्ञासु,(ग)अर्थर्थी,(घ)कमी,(ङ)ज्ञानी।स्वच्छ मनले पूजा,आराधना गरेपछि प्रसन्न भएर मनोवाञ्छित बरदान दिने उनै शक्तिस्वरुपा भगवती दुर्गा नै हुन।मेधा ऋषिबाट रचना गरिएको दुर्गा भगवतीमयी दुर्गा सप्तशती(चण्डी)को पुस्तक ग्रिहस्तीहरुका लागि सर्वसुलभ,अति सरल,सर्वश्रेष्ठ उपासना एबम अनुष्ठानको साधन सिद्ध भएको छ।यस पुस्तकमा ५६ श्लोकीय दुर्गा कवच,२५ श्लोकीय अर्गलास्तोत्र,१४ श्लोकीय कीलक भनेर राखिएको छ भने अध्याय १ देखि १३ सम्मको ७०० श्लोकीय दुर्गा सप्तशती भनेर पाठ गर्नका लागि छुट्ट्यायिएको छ।यस चण्डीको पाठ गर्दा पहिले दुर्गा कवच,अर्गलास्तोत्र र कीलक पाठ गरिसकेपछि मात्र तलका १ देखि १३ अध्यायहरुको पाठ गर्नुपर्ने निश्चित प्रावधान छ।यस ढंगले चण्डीको नियमित पाठ गरेमा मात्र पूर्ण सिद्धि प्राप्तहुन सक्ने जनायिएको छ।चण्डी पाठ गर्दा मन्द वा अल्प स्वरले पाठ गरेमा आम्सिक फल पाईने हुनाले यसको पाठ उच्च स्वरले नै गर्ने गरिन्छ।

 

सत्ययुगमा ग्रिहस्तीहरु उपासनाको उत्तम साधन कुन होला भन्ने जिज्ञाषा लिएर उनै देवादिदेव महादेव समक्ष पुगेछन।महादेवले सबै शास्त्रहरु आद्योपान्त अध्ययनगरी ग्रिहस्तीहरुको लागि सरल र उत्तम साधन दुर्गा सप्तशती(चण्डी) भएको जानकारी सबैका सामुन्ने सुनाएछन।अरु साधनहरुबाट प्राप्त पूण्य नाशवान हुन्छ,तर चण्डी पाठबाट प्राप्त पूण्य कहिल्यैपनि नाश हुंदैन भन्दैदुर्गा सप्तशतीको श्रेष्ठताको निर्णय घोषणा गरायिएछ।त्यसै समयपछि देखि यस धरतीमा बिशेषगरी वैदिक सनातन तथा हिन्दु परम्परा अन्तर्गतका मुलुकहरुमा चण्डीको नियमित पाठ गर्ने परम्पराको थालनी हुंदै आएको हो भन्ने पौराणिक कथन छ।सत्ययुगमा छिमेकी शत्रुसंग युद्ध गर्दा आफ्नो राज्य गुमाएर बिरक्त भै भौतारिंदै बन-जङ्गलमा हिंडेका सुरथ राजा र आफ्नै परिवार र आफन्तहरुबाट लखेटिएका समाधि बैश्यलाई यिनै सर्वशक्तिस्वरुपा दुर्गा भगवतीको स्तुती गर्ने उपदेश मेधा ऋषिले दिएका र यिनै ऋषिको परामर्श,उपदेश अनुसार सुरथ राजा र समाधि बैश्य दुवै नदी तटमा गएर तीन बर्षसम्म नित्य दुर्गा भगवतीको आराधना गरेपछि दुर्गा भगवती उनीहरुका सामुन्ने प्रकट भएर मनवाञ्छित बरदान दिएको प्रसङ्ग यसै दुर्गा सप्तशतीमा उल्लेख छ। दुर्गा भगवती(देवी) करुणामयी छिन।यिनीसंग ज-जसले जे-जे मनचिन्ते बरदान माग्यो त्यहि-त्यहि दिन्छिन।यस बिषयमा यहां एक देवबाणी यस्तो छ—-

 

यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्।

यस्ती यिनको महिमा जति बर्णन गर्न खोजेपनि थोरैनी हुन्छ।यिनै देवीको अर्को मन्त्ररुपी देवबाणी यसरी गायन गरिएको छ–

देवि प्रपन्नार्तिहरे प्रसीद,

प्रसीद मातर्जगतो खिलस्य।

प्रसीद विश्वेश्वरि पाहि विश्वं,

त्वमीश्वरी देवि चरा चरस्य।।

 

देवी बिभिन्न स्वरुपा छिन।त्यसैले यिनलाई नित्यस्वरुपा पनि भनिन्छ।यो सम्पूर्ण जगत उनकै रुप हो,उनैले समस्तलाई ब्याप्त पारेर राखिरहेकी छिन।यिनै चराचर बिश्वकी अधिश्वरी हुन,जगतलाई धारणा गर्ने,पालना गर्ने र सम्हार गर्नेपनि यिनै हुन।ब्रह्माजीको आराधनाबाट प्रकट भएकी देवी महामाया हुन।महाप्रलयमा महाकाली हुने यिनै हुन।

 

जयन्ती,मङ्गला,काली,भद्रकाली,कपालिनी,दुर्गा,क्षमा,शिवा,धात्री,स्वाहा,स्वधा,यी सबै रुप यिनैका हुन। आफ्ना बाहुहरुमा बिभिन्न शस्त्र,अस्त्र,धारणगरी बिभिन्न शक्तिस्वरुपा भएर दैत्यहरुको नाश पार्ने,भक्तहरुलाई अभय प्रदानगरी देवताहरुको कल्याण गर्ने करुणामयी माता पनि यिनै हुन।जसको क्रिपा-प्रसाद र करुणाले सबैको ऐश्वर्य,आरोग्य,सौभाग्य,सम्पत्ति, शत्रुनाश र मोक्षको पनि सिद्धि हुन्छ,त्यस्ती कल्याणमयी जगदम्बा भगवतीको हामी सबैले नियमित रुपले स्तुती,आराधना गर्नु नितान्त आबश्यक महशूस हुन्छ।ऋषिश्रेष्ठ मेधामुनीबाट उपहार स्वरुप प्राप्त अपार साधन दुर्गा सप्तशती(चण्डी)को महिमा र मर्म बुझौं,यसको सिद्धिबाट लाभान्वित हुने प्रयास गरौं,आ-आफ्नो जीवनलाई धन्य र भगवतमय बनाऔं,सबै बन्धु-वान्धवमा मेरो यहि सादुभाव। अस्तु!