२०७९ असार १८ , शनिवार

नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन

सुनाखरी न्युज/ काठमाडौं – शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । स्वरोजगार लघुवत्तको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ५९० रुपैयाँको आधारमा कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार २७२ रुपैयाँ तोकेको हो ।

 

त्यस्तै आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ८९९ दशमलव ९० को आधारमा २५ प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ५१९ दशमलव ९२ तोकेको हो । आशा लघुवित्तले यस वर्ष २५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १२ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो ।

स्वरोजगार लघुवित्तले भने साबिकको जनकपुर लघुवित्तलाई प्राप्ती गरी २०७७ साल असोज २५ गतेदेखि एकिकृत कारोबार गरेकाले त्यस अघिका शेयरधनीहरुलाई बोनस शेयरमा कर छुटको व्यवस्था छ भने नयाँ शेयरहरु तथा थप खरिद गरेको शेयरको हकमा भने शेयरधनीहरु स्वयम्ले बोनस शेयर वापतको रकम तिर्नुपर्नेछ । स्वरोजगार लघुवित्तले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २७ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि स्वरोजगार लघुवित्तले भने कात्तिक १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गते बिहीवार सम्म कायम शेयरधनीहरुले मात्र दुबै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।