२०७९ जेठ ३ , मंगलबार

कोब्राले टोकाएर श्रीमतीको हत्या !

सुनाखरी न्युज/ काठमाडौं-

सर्पले टोकाएर आफ्नी श्रीमतीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष हत्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि यातना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको हत्या गरेर उनको सम्पत्तिमाथि कब्जा जमाउन खोजेका थिए ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुपयो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फाले । कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।